छोरी

छोरी

डाक्टर साहब?
लौन छिट्टै हेरी दिनुपऱ्यो, अनर्थ हुनै लाग्यो,
कुन पेटमा वंश छ, कुन पेटमा धर्तीको बोझ?
हिजो पल्लाघरे माइलाले
आँखा चिम्लिदा, अरथी उठेन रे
पाँच छोरीको बाउ उ,
काँध दिने कोही भएन रे,
लौन डाक्टर साहब म पनि समस्यामा छुँ!
मेरा पनि वंशको आशैआशमा
तीन धर्तीका बोझ छन

हो यस्तै यस्तै शब्दहरु
मेरो मानस्पतलमा गुँजिरहन्छन,
छोरीलाई मार्नुपर्छ,
छोरीले संसार देख्नु हुँदैन
छोरीले वंशको रक्षा गर्न सक्दैन
छोरी छोरा सरह काम गर्न सक्दैन,
उ केवल धर्तीको बोझ हो,
उस्ले केवल भान्सा गर्नुपर्छ
गोबर सोर्नुपर्छ
सोतर उठाउनुपर्छ
मात्र घरधन्दा गर्नुपर्छ
उफ्
कति सुनौं यी शब्दहरु
कति सहौं यी अन्याय-अत्याचारहरु
के छोरी भएर जन्मिनु अपराध हो?
के छोरी भनेका धर्तीका बोझ हुन?
के छोराले मात्रै संसार देख्न पाउँछ?
के छोराले मात्रै हरेक काम गर्न सक्छ?

हो यस्तै यस्तै प्रश्नहरुको
वर्षात गर्न मन छ,
ती सम्पुर्ण बा’हरुलाई
जस्ले छोरी बिना नै
यस संसार देख्न पायो होला,
जस्ले माटो खाएर वंश बचायो होला
जस्ले पानी पिएर जवान भयो होला,

मलाई एकचोटी फेरी सोध्न मन छ
ती सम्पूर्ण बा’हरुलाई,
जस्ले हरदम सोंच्ने गर्छ
छोरी कलंक हो
छोरी धर्तीको बोझ हो
छोरी वंशको अवरोध हो,
छोराले वंश बढाउँछ
छोरा स्वर्गको ढोका खोल्छ
छोरा पिण्ड दान गर्छ,

यदी त्यसो हो भने
तपाईँलाई जन्म कस्ले दियो?
तपाईँ कस्को पेटबाट संसार देख्नुभयो?
तपाईँ घरमा कस्लाई भित्र्याउनुभयो?
तपाईँलाई खाना कस्ले दिन्छ?
तपाईँका ती दुर्गन्धित लुगा कस्ले धुन्छ?
यी थुप्रै प्रश्नका चाङहरु
मसंग अँझै सुरक्षित छन,

त्यसैले ‘बा’
मलाई पनि जन्मिन देउ
मलाई पनि संसार देख्न देउ
म पनि छोरा सरह काम गर्न सक्छु
उस्ले बोक्ने भारी म पनि बोक्न सक्छु
उस्ले सहने घामपानी म पनि खेप्न सक्छु
उस्ले गर्ने पिण्ड दान म पनि गर्न सक्छु
उस्ले बोक्ने अरथी म पनि बोक्न सक्छु
तसर्थ ‘बा’
मलाई पनि समान अधिकार देउ,
म पनि छोरा भएर बाँच्न चाहन्छुँ!
म पनि छोरा भएर बाँच्न चाहन्छुँ!

अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली