धेरै गर्यो, मुक्तिको उत्कट रहर
पिंजडामा बन्द एउटा मैनाले
र खोलिदिएँ, मायाको द्वार
यो कहिल्यै सोचिन,
कि यति परसम्म पुगिजाला भनेर !
धेरै गर्यो, अनन्त बग्ने रहर
कुनै खोल्सोमा जमेको एक गाग्री पानीले
र जोडिदिएँ, मायाको पनालो
यो कहिल्यै सोचिन,
कि यति रफ्तारमा बगिजाला भनेर !
धेरै गर्यो, बुलन्द बन्ने रहर
अवरुद्ध गलामा दबेको सुरिलो आवाजले
र भरिदिएँ, मायाको श्वास
यो कहिल्यै सोचिन,
कि आफैलाई अक्सिजनको कमी होला भनेर !
धेरै गर्यो, जिन्दगीसंग नै बिमती
छातिभित्र धड्किरहने आफ्नै मुटुले
र पनि गरिरहें, मायाको समर्पण
यो कहिल्यै सोचिन,
कि सोच्दै नसोचेको कुरा भै’जाला भनेर ! © अवि अजनबी १९, जेठ २०७८
कलाकुन्ज ।