चिरै ! चिरै !! चिरै !!! भजहर

चिरै ! चिरै !! चिरै !!! भजहर

–दिलबहादुर चौधरी
नेपालमा आदिवासी थारू, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बाह्रै महिना चाडपर्व मनाइरहन्छन् । संस्कृतिको धनी मानिने आदिवासी जनजाति थारूमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको मतलब अरु जिल्लामा यस्तो छँदैछैन भन्न खोजेको हैन, फेरि पनि कैलालीमा केही त्यस्ता थारूहरुका थर छन्, चाडपर्व छन्, जुन अरु जिल्लामा छैन भन्दा फरक नपर्ला । तपाई कञ्चनपुरमा जानुहुन्छ भने चौधरी, राना थारू पाउनुहुन्छ भने कैलालीमा चौधरी, राना र कठरिया थारू पाउनुहुन्छ । धेरै ठाउँ, जिल्लामा नमनाउने पर्व तपाई कैलालीमा आउनुहुन्छ भने मज्जाले देख्न सक्नुहुन्छ, त्यसमा रमाउन सक्नुहुन्छ । त्यस्तै मध्येको एउटा पर्व हो, चिरै–त्यौहार । त्यसैले आउनुस् चिरैं–त्यौहार बारे यहाँ सानो चर्चा गरौं ।
परिचय ः
थारू भाषामा चिरैं भनेको चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर, एक हिसाबले हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केही समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केही समयको लागि रमाउन आउँछन् भन्ने उनीहरुको अध्ययनले देखाउँछ । चरा सम्बन्धमा हिन्दीमा तमाम गीत पनि छ, ‘मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी’ जस्ता । हो, थारू समुदाय पनि चरालाई स्वतन्त्र रुपमा देख्यौ । चेलीबेटीहरु रमाउने यो दिनलाई थारू समुदायका उदार गुर्वाहरु, भर्राहरु, जानकारहरु, भलमन्सा, बरघर, महतोहरु चिरै, चरै, चिरै भजहर भनी संज्ञा दिए । त्यसैले भन्नै पर्छ, चिरैं–त्यौहार कैलालीका थारूहरुले मनाउने एक त्यस्तो फरक पर्व हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै–चरै र चिरै भजहरको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो पर्वका मूल पात्र कन्या (अविवाहित) केटी हुन्छन् । दोश्रो भर्खर विवाह गरी ससुराल पुगेका नवविवाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट पनि कुनै रोकटोक हुँदैन । पुरुष भने यसमा सहभागी हुन सक्तैन । यस पावन दिनमा थारू चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरिका चेलीबेटीहरु गाउँ बाहिरको बगिया (बगैचा) वा रुख–विरुवा भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरु बीच चिनजान हुने गर्दछ । तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो वातावरण कति रमाइलो हुन्छ होला, जब गाउँभरिका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता–अत्ता पानी गंगा रानी जस्ता खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन् र रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा नै तल्लीन हुन्छन् । त्यसैले नै हो, यहाँका थारू बुद्धिजीवीहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।
कहिले पर्दछ चिरैं ?
उसो त चिरै–त्यौहार, चैत महिनाको ओजरिया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि अपराध मानिंदैन । फेरि पनि गुर्वाहरु, जानकारहरुका अनुसार चैत महिनाको ओजरिया (शुक्ल पक्ष) को अन्तिम शुक्रबार नै चिरैंको लागि उत्तम मानिन्छ । कथंकदाचित अन्तिममा शुक्रबार परेन भने सोमबार, सोमबार परेन भने जुनसुकै बार भएपनि हुन्छ ।
के के गर्दछन् चिरैमा
चिरै–त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई–धुवाई गरी खाना र बरिया (पुरी), खुरमा (त्रिकोण र चौकोण आकारको पुरी) तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका केटीहरु घर–घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बर–पिपल वा कुनै रुख विरुवा जसको छहारी होस् र जुन छहारीमा गाउँभरिका केटीहरु बस्न सकुन्, रमाउन सकुन्, खेल्न सकुन् । त्यस्ता ठाउँ रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता–अत्ता पानी गंगा रानी आदि खेल खेल्दछन् । आ–आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वेच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी–देउता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत (लक्ष्मीदेवीको कृपा) आउँछ भन्ने मान्यता छ ।
त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नु हुँदैन, उनीहरु खुशी रहे, देवी देउता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता), पानी लिएर उनीहरु भएको ठाउँमा जान्छन् र खुवाउँछन्, पिवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, किंकर्तव्यबिमुढ हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देउताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने महिलाहरु, चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, वातावरणले उनलाई मात्र होइन, स्वर्गका देवी–देउताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन्, अदृश्य रुपमा उनीहरुसँग रमाउँछन्, आशिर्बाद दिन्छन्, कृपा गर्दछन् भन्ने जानकारहरुको विश्वास छ ।
त्यसैले चिरैं–त्यौहार पावन पर्व हो, जसले केटीको आवश्यकता र महत्व दर्शाउँछ । जुन घरमा केटी हुँदैनन्, त्यो घरलाई त्यस दिन केटीको अभाव खट्किन्छ । चेलीबेटी नभएका घरले मेरो घरमा एक जना चेलीबेटी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई खानपिन, पोशाकको व्यवस्था गरेर पनि आफ्नो घरको तर्फबाट चिरै भजहरमा प्रतिनिधित्व गराउँदछन् ।
चेलीबेटीहरु गाउँ बाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुर्वालाई लिएर चेलीबेटीहरु भएको ठाउँमा जान्छन् र पूजा गर्दछन् । यस सम्बन्धमा कैलालीको पूर्वीक्षेत्रमा बसोबास गर्ने गुवौ सोमै डंगौरा भन्छन्, “चिरैंमा पूजा गर्दा ७ धजा (ध्वजा), ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा देवी–देउता र ७ बहिनियाँ (दुर्गा, कालिका, मरी, घोटैली, आदि ७) र उनीहरुको ७ लहराको पूजा हुन्छ, दिउँसो एकचोटी पूजा हुन्छ र साँझ पुनः पूजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य) काटी चेलीबेटीहरुलाई घर–घर जाने अनुमति दिइन्छ ।” गुर्वाले पूजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँछन् । जसले रोग ब्याध, दुःख बिमारी, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनविश्वास रहेको छ ।
ऐतिहासिक पक्ष
हिन्दूहरुको ब्राम्हन, मुश्लिमको मूल्ला, क्रिश्चियनहरुको पादरी जस्तै थारू समुदायको देवी–देउताको पूजा गर्ने, गाउँ समाजलाई रोगब्याध, भूतप्रेत, अनिष्टबाट बचाउने भनी हरेक गाउँमा गुर्वा हुन्छ । गाउँ हेर्नेलाई भुईह्यार भनिन्छ । थारू समुदायमा जब भुईको सृष्टि भयो, मानव सृष्टि भयो, त्यसैबेला देखि भुईह्यार पनि सृष्टि भए भन्ने भनाई छ । चिरै सम्बन्धमा पुर्खाहरुको, जानकारहरुको, गुर्वाहरुको भनाई छ, ‘परापूर्वकालमा कुनै गाउँमा दुःख बिमारी एवं ठूलो बिपत्ति आइप¥यो । त्यतिबेला गाउँका भलमन्साले गुर्वालाई बोलाएर गाउँलाई ठिक पार, सुख शान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुर्वाले गुरैपाटी शुरु गरे । गुर्वा जानकार थिए । उनले रातभरी लगातार गुरैपाटी गरे, आछत बीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पूजा बिधि पत्ता लगाए । देवी–देउतासँग प्रार्थना गरे, भाकल गरे कि हे ! देवी, हे ! देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्लपक्षको अन्तिम शुक्रबार यहाँहरुको म पूजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी–देउताबाट आदेश पाए, चैत महिनाको शुक्लपक्षको अन्तिम शुक्रबार, शुक्रबार नभए सोमबार पूजाको लागि उत्तम छ, पूजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुर्वालाई सोधे के गर्नुपर्छ गुर्वा महाराज । गुर्वाले भने भलमन्साज्यू ‘भोलि चैत महिनाको शुक्लपक्ष र अन्तिममा शुक्रबार परेको छ, गाउँ भरिका अविवाहित चेलीबेटीहरुलाई सोह्रौं सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर–पिपल, पकडिया छहारी भएका रुखहरु मनि जम्मा हुन लगाउनुपर्छ, उनीहरुलाई खुशी पार्नु पर्दछ, उनीहरु खुशी भए भने देवी खुशी हुन्छन् । गाउँलेले कन्याहरुको सम्मानमा कञ्जुस्र्याई गर्नु हुँदैन । एक दिन उनीहरुको खुशीको लागि छुट्टयाउनु पर्दछ । गुर्वाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेला देखि चिरै÷चरै÷चिरै भजहरको शुरुवात भएको हो । त्यसैले अभिभावकहरु चिरैको दिनमा कन्याहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरुलाई दान गर्नु नारीको सम्मान ठान्छन् । उनीहरुले बाटो छेक्दा रित्तो हात फर्काउँदैनन् । बिशेषतः यो पर्व कन्याहरुको स्वतन्त्रताको दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।
अन्तिममा के भन्न सकिन्छ भने चिरैं÷चरै÷चिरै भजहर बिशेषतः चेलीबेटीहरुको पर्व हो, त्यौहार हो । यो पर्वकोे उदय गराउने गुर्वा पक्कै पनि नारीवादी थिए भन्न कर लाग्छ । चेलीबेटी घरको चूलो, चौका, घर धन्दा लगायतका बन्धनमा बाँधिनुपर्ने, यतायता स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा गुर्वाले सोह्रो श्रृङ्गारको भाकल गर्नु, उनीहरुलाई हाँसखेल गर्ने वातावरण तयार गरिदिनु पक्कै पनि नारीहरुको स्वतन्त्रताको अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्नु हो भन्दा फरक नपर्ला । तर कतिपय गाउँमा यसलाई चेलीबेटीहरुले नै विकृत बनाए । कतिपय गाउँमा आफूलाई जानकार ठान्नेहरु विकृत बनाए । बाटो छेक्ने, जबर्जस्ती रकम टोकेर माग्ने, नदिन चाहने व्यक्तिलाई दबाब दिने, कसैको खेतबारीमा चना केराऊ भए बढी नै खाइदिने कार्यले कन्या दिवस, सखी दिवस विकृतिको रुपमा पनि देखियो । त्यसैले यसलाई राम्रो बनाउने कार्य तपाई हामी सबैको हो, जिम्मेवार व्यक्ति सबैको हो । यसलाई मान्ने, मनाउने हरेकले चाडपर्वप्रति जिम्मेवार बन्नुपर्छ । हाँस, खेल, राहरंगी गर्नुपर्छ, रकमको लागि दबाब दिन हुँदैन । हरेक जानकार व्यक्ति, सचेत व्यक्तिहरुले चेलीबेटीहरुको सम्मान गर्न पछि पर्नु हुँदैन । उनीहरुको सम्मानबिना घरमा, गाउँमा शान्ति हुन सक्तैन भन्ने कुरालाई बिर्सन हुँदैन । कतिपय मित्रहरु फागुनमा मनाउने चालचलन चैतमा मनाउने, चैतमा मनाउने परम्परालाई बैशाखमा धकेल्ने गरेका छन् । यसरी महिनालाई बदलेर, धकेलेर संस्कृतिको संरक्षण र सम्बद्र्धन हुँदैन । परम्परालाई तोडमतोड गरेर संस्कृतिको आफ्नोपन रहँदैन । यसमा सबैको ध्यान जान आवश्यक छ । धन्यवाद !

साभार -आदिवासी शब्दचित्र (नेपाल आदिवासी जनजाति महासंघ लमही देउखुरी)