छविलाल कोपिलाको जन्म दिनमा ‘मृत्युका कुरा’

प्रेमबहादुर राम्जा

म, मेरो खुशीको लागि
ईष्र्याको कम्बल ओढेर
कसैको सुख चोर्न सक्दिन,
वेदनाको शूल बाँडेर
कसैका सहानुभूतिहरु जोड्न पनि सक्दिन ।
म त आँसु पिएर बाँचेको मान्छे
यो जिन्दगीसंग
म हार स्वीकारेर
मृत्यु स्वीकार्न सक्दिन ।

प्रस्तुत कविता देउखुरीका साहित्यकार छविलाल कोपिलाको हो । उनले जेठ १७ गते लमहीको एक औपचारिक कार्यक्रममा यही कविता सुनाउँदै थिए र आफ्नो ४२ औँ जन्म दिन मनाउँदै थिए । उनको जन्म दिन पर्छ हरेक बर्षको जेठ १७ गते र गर्छन् बेग्लै कार्यक्रम । जुटाउँछन् सहयात्री र शुभ—चिन्तक अनि साहित्यका कुरा गर्छन् ।
देउखुरी क्षेत्रमा साहित्यको विकासमा सधै अहोरात्र खट्ने एउटा खम्बा छविलाल कोपिला । जिल्लाको दक्षिणभाग देउखुरीमा साहित्य सिर्जनामा उनी मात्र एक्ला होइनन् साहित्यकारहरुको भीडमा उनको छाप फरक ढंगको छ । जसले देउखुरी चिनाएको छ, दाङ चिनाएको छ संगै आफ्नो पहिचान दिएको छ । पहिचान दिएका छन् राज्य, समाज अनि अन्तर्राष्ट्रिय समाजलाई साहित्यको माध्यमबाट ।
पहिलेको चैलाही र अहिलेको लमहीलाई स्थायी बसोबासी छविलाल कोपिलाले आफ्नो जन्म दिन यस्तै गरी मनाउन लागेको तीन बर्ष पुगेछ । ४०, ४१ र ४२ औँ जन्मदिन लगातार यसैगरी मनाई रहेका छन् र साथ दिएका सबै साथीभाईहरुले । आफ्नो जन्मदिन मनाउने नयाँ शैलीलाई पनि कोपिलाले राम्रैसंग छोपेका छन् । सधैको ग्रीष्म ऋतुमा पर्ने जन्मदिनमा खुसीका कुरा गर्नुपर्नेमा उनले गर्छन् ः—

थाहा छ मलाई
अभावको बाटो हुँदै
मेरा सार्थक खुशीका जन्तीहरु
निराश रहरहरुसंगै मलाम हिंडिरहेछन्,
नियतिका भुकम्पहरुले
मेरो टाउकोमाथि कुल्चेर
विक्षिप्त मष्टिस्कहरुसंग जुलुस गरिरहेछन् ।
तर, म निस्फिक्री शीर उठाई
भन्न सक्छु
यो जिन्दगीसंग
म हार स्वीकारेर
मृत्यु स्वीकार्न सक्दिन ।

सधै ब्यस्तको ब्यस्तै रहन्छन् साहित्यको नाममा । कहिले साहित्यिक कार्यक्रमको सिलसिलामा पुर्व पुगेका हुन्छन् त कहिले पश्चिम महाकालीको भूमि टेका हुन्छन् । जहाँ गए पनि हर समयमा उनको जिब्रोमा एउटै शब्द अटेको हुन्छ, ‘साहित्य’ । नेपाली र थारु भाषामा साहित्य सिर्जना गर्ने कोपिलाको बास्तविक नाम भने छविलाल चौधरी हो । यो बर्ष भने ठ्याक्कै जन्मदिनका दिन कुनै औपचारिक कार्यक्रम गर्ने मुडै थिएन रे कविता सुनाउँदै गर्दा गन्थन गर्दैथे । तर, देउखुरी गजल अभियानले मानेन र स्वीकार गरे जन्म दिन मनाउने कार्यक्रमलाई । उनले जन्म दिन मनाउने कार्यक्रम स्वीकार गरे तर उनले जन्मसिद्ध मृत्युलाई स्वीकार गर्न सकेनन् र भट्याए मृत्यु नस्वीकार्ने कविता ः—

जन्मदिनमा बधाई तथा शुभ—कामना दिदै राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायतका साहित्यकारहरु ।

यतिबेला,
इमानको औंला समातेर
हिड्ने मेरा बाटोहरु भासिदैछन्
सोचेथें,
एकैछिन बसेर थकाई मारुँ
मेरो विश्वासको चौतारीमा,
तर, एकाएक आँधी र हुरी चलिरहेछन् ।
ओत लोग्ने मनको आकाश थियो
लम्पसार भएर च्यापिन खोजिरहेछ,
र, लक्ष्यमा पुग्ने यौटा धरती पनि थियो
चिरा–चिरा भएर च्यातिन खोजिरहेछ ।
यता, मेरा आकांक्षाका जगहरु हल्लिदैछन्
अनि, धैर्यताको छानो उजारिदैछ
तर पनि,
कुन्नि किन हो,
युद्धमा पराजित भगौडा जस्तै
यो जिन्दगीसंग
म हार स्वीकारेर
मृत्यु स्वीकार्न सक्दिन ।

२०३२ सालको जेठ १७ गते पार्वती चौधरी र कल्लु चौधरीको छोराका रुपमा जन्म लिएका कोपिलाले पत्रकारिता र कृषि पेशालाई अहिले पनि जारी राखेका छन् भने त्यसबाहेक साहित्यलाई स्थान दिएका छन् । देउखुरीको मजगाउँमा बस्दै आउनुभएका कोपिलाले दर्जन बराबर कृतिहरु प्रकाशनमा ल्याउनुभएको छ । विभिन्न पुरस्कारबाट सम्मानित कोपिलाले उपन्यास, गजल, कविता, बाल संग्रहलगायतमा आधारित संग्रहहरु प्रकाशनमा ल्याएका छन् । समाज परिवर्तनका लागि सधैभरी खटीरहने उनको कलम कहिले साहित्यको बाटो रोज्छ कहिले पत्रकारिताको बाटो रोज्छ । जे जस्तो भए पनि उनको कलमले कहिल्यै पनि विश्राम लिने छैन भन्ने हाम्रो शुभ—कामना छ । उनको साहित्य यात्रा अझै शिखर चुम्न सकोस् मेरो लाखौँ—लाख शुभ—कामना ।।