देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु

देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु

–छविलाल कोपिला
थारू भाषाको छापा साहित्यलाई हेर्ने होे भने बढवा थारूको ‘बढक्क जोर्नी’ पहिलो प्रकाशित कृति मानिन्छ । जुन २००९ सालमा प्रकाशित भएको थियो । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’ गीत संग्रह, २०१६ सालमा रूपलाल महतो÷बद्रीनाथ योगीको सामुहिक संकलनमा दङ्गीशरण कथा, बर्कीमार, गुर्वाबक जन्मौती गरी तीन वटा पुस्तक प्रकाशित भएको पाइन्छ । २०२२ सालमा श्री कृष्ण जन्माष्टमी गीत, २०२४ सालमा सखिया गीत, २०२८ सालमा गोचाली पत्रिका (थारू भाषाको पहिलो पत्रिका) प्रकाशित भयो । थारू लोकसाहित्य संकलन र प्रकाशनमा महेश चौधरीको अतुलनीय योेगदान छ । उनले २०२८ सालमा माँगर, बर्कीमार, २०३१ सालमा झुमरा गीत, २०३९ सालमा गुरुबाबक् जन्मौती संकलन गरी प्रकाशित गरेका छन् । त्यस पछि थारू भाषाका थुप्रै कृति र पत्रपत्रिकाहरु प्रकाशित भएको पाइन्छ । यहाँ विशेष देउखुरीक्षेत्रमा क्रियाशील केही स्रष्टा र कृतिको छोटकारीमा जानकारी गराउन खोजिएको छ ।
१. श्री कृष्ण जन्माष्टमी गीत (२०२२)
थारू समुदाय कला, संस्कृति र लोकगीतमा निकै धनी मानिन्छ । यद्यपि समय संगै धेरैजसो गीतहरु अहिले लोप हुने अवस्थामा छन् । ऋतुगीत, पर्वगीत, नृत्यगीत, प्रहर–प्रहरमा गाउने समयगीत, ठाउँ विशेष गीत लगायत रहेका छन् । ‘श्रीकृष्ण जन्माष्टमी गीत’ पर्वगीत होे । जुन गीत संरक्षणका लागि २०२२ सालमा सरस्वती हाई स्कूल विद्यानगरमा गठित दाङ–देउखुरी थारू छात्र संघले प्रकाशित गरेको होे । ४४ पेज रहेको यस कृतिमा सुम्रौटी सहित गीतका ३१२ श्लोक राखिएका छन् । क्षेत्रगत रुपमा हेर्ने होे भने सम्भवतः देउखुरीक्षेत्रमा यही कृति नै थारू भाषाको पहिलो औपचारिक छापा कृति होे । गणेश प्रेस बलरामपुरमा मुद्रण गरिएको यस कृतिको मूल्य ८० पैसा राखिएको छ । पहिलो संस्करणमा एक हजारप्रति प्रकाशित गरिएको कृतिमा उल्लेख छ ।

२. जनतनके गीत (२०४८)
जनवादी गीतकार नारायण योेगीको ‘जनतनके गीत’ गीत संग्रह प्रकाशित भएको छ । २०४८ सालमा प्रकाशित यस कृतिमा उनका ६ वटा मौलिक सिर्जना र दुई वटा अनुवाद (हिन्दीबाट) सहित ८ वटा थारू गीतहरु समावेश गरिएका छन् । यसभित्र संग्रहित सबै गीतहरु संगीतबद्ध पनि गरिएको छ ।

३. आइल रे में दिन (२०५१)
गीतकार नारायण योेगीको अर्को गीत संग्रह होे ‘आइल् रे में दिन’ । २०५१ सालमा प्रकाशित यस कृतिमा जम्मा १० वटा थारू भाषाका गीतहरु समावेश गरिएका छन् । जस मध्ये उनका ७ वटा आफ्नो मौलिक सिर्जना हुन भने दुई वटा संकलित र एउटा अनुवाद गीत (हिन्दीबाट) हुन् । यसभित्रका गीतहरु पनि संगीतबद्ध गरिएका छन् ।

४. फुटल करम (२०५५)
‘फुटल करम’ साहित्यकार कृष्णराज सर्वहारीद्वारा लेखिएको थारू भाषाको पहिलो उपन्यास होे । जुन २०५५ सालमा प्रकाशित भएको थियो । जुनुबुनु प्रकाशन नेपाल दाङ–देउखुरीले प्रकाशन गरेको योे कृति विशुद्ध पश्चिमा थारू भाषामा लेखिएको छ । बाल–विवाह, अनमेल–विवाह, झाँगाप्रथा, कुसंस्कार, गरीबी, अन्याय, अत्याचार, शोषण र दमन जस्ता विषयवस्तु समेटेर लेखिएको योे उपन्यास थारू समुदाय मात्रै होेइन गैरथारू समुदायका लागि पनि उपयोगी सावित भएको छ । ६४ पृष्ठ रहेको यस उपन्यासको मूल्य जम्मा २० रुपैयाँ राखिएको छ । यस बाहेक उनका थारू भाषाको अर्को उपन्यास ‘लाल केरनी’ छ । योे पुस्तकाकारमा प्रकाशित नभए पनि २०६६ सालमा हमार पहुरा दैनिकमा प्रकाशित धारावाहिक उपन्यास होे ।

५. दोसर घर जाइबेर (२०५६)
साहित्यकार कृष्णराज सर्वहारीले लेखेको मुक्तक संग्रह हो ‘दोसर घर जाइबेर’ । जुनुबुनु प्रकाशन दाङ–देउखुरीले प्रकाशन गरेको यस कृतिमा जम्मा ६२ वटा मुक्तकहरु रहेका छन् । नेपाली साहित्यमा मुक्तक खास गरी अनुप्रासयुक्त र गैरअनुप्रासयुक्त गरी दुई प्रकारको संरचनामा लेखिएको पाइन्छ । यस कृतिमा दुई वटै संरचनामा रचिएका मुक्तकहरु समावेश गरिएका छन् । ३८ वटा चार पदीय, ४ वटा पाँच पदीय, ११ वटा छ पदीय, २ वटा सात पदीय र ७ वटा आठ पदीय मुक्तकहरु रहेका छन् । अधिकांश मुक्तकहरु ४ पदीय रुवाईशैलीमा रचिएका छन् । तर, रुवाइ संरचनाकै आक्षरिक लयविधानमा भने समाविष्ट मुक्तकहरु त्यति सचेत देखिदैन । यसभित्रका अधिकांश रचनाहरु स्वनिर्मित शैलीका छन् । ६६ पेजको आकारमा रहेको यस कृतिको ३१ पेजमा मात्र मुक्तक रहेका छन् भने ३५ पेजमा कृतिको भूमिका लगायत कृतिकारका अघिल्लो कृति ‘फुटल करम’को विभिन्न लेखकद्वारा लेखिएका समीक्षात्मक अभिव्यक्तिहरु प्नि रहेका छन् ।

६. गाउँ हमार होे (२०५६)
जनवादी गीतकार नारायण योेगीको तेस्रो गीति संग्रह होे ‘गाउँ हमार होे’ । २०५६ सालमा प्रकाशित यस कृतिमा सबै प्रगतिशील थारू गीतहरु समावेश गरिएका छन् । उनका ७ वटा आफ्नै सिर्जना र एउटा अनुवाद (हिन्दी) सहित ८ वटा गीतहरु समावेश गरिएका छन् । यसभित्र संग्रहित सबै गीतहरु संगीतबद्ध पनि गरिएको छ ।

७. बैसालु जोवन (२०५७)
बासु प्रकाशनको पहिलो प्रस्तुतिको प्रकाशित कृति होे ‘बैसालु जोवन’ । यस कृतिमा दुई जना युवा स्रष्टाहरुका मुक्तक र कविताहरु समावेश गरिएका छन् । यसमा बालगोविन्द चौधरीका १३ वटा कविता र ९ वटा मुक्तक रहेका छन् भने सुमन चौधरीका १३ वटा कविता र ३ वटा मुक्तक रहेका छन् । यसरी २६ कविता र १२ मुक्तक गरी ३८ वटा सिर्जना रहेको यस कृतिभित्र एकाध रचना बाहेक पूर्णरुपमा श्रृंगारिक भावमा उनिएका रचनाहरु रहेका छन् । जम्मा ३२ पेज रहेको कृति २०५७ साल असोज महिनामा प्रकाशित भएको होे ।

८. मुक्तिक खोज (२०५९)
छविलाल कोपिलाद्वारा लेखिएको ‘मुक्तिक खोज’ २०६९ सालमा प्रकाशित उपन्यास कृति होे । योे उपन्यास कमैया जनजीवनमा आधारित छ । पुस्तौंदेखि बलात्कार, शोषण दमनको अघोर कालचक्र चलाउने जमिनदारहरुप्रति आक्रोशको स्वर उरालिएको छ यसमा । सोझा गरीब किसानहरुलाई विभिन्न बहानामा शोषण गरिएका घटनाहरु प्रस्तुत गरिएका यस उपन्यासभित्रका कतिपय वर्णनात्मक आयाम र हृदयविदारक घटनाले स्तब्ध बनाउँछ । अतिरिक्त प्रकाशन नेपाल दाङद्वारा प्रकाशित योे उपन्यास नौ खण्डमा प्रस्तुत गरिएको कृति हो ।

९. समयका उच्छ्वासहरु (२०५९)
साहित्यकार कृष्णराज सर्वहारीको ‘समयका उच्छ्वासहरु’ मूलतः नेपाली भाषामा लेखिएको कृति होे । यसको थारू भाषामा पनि अनुवाद गरिएको छ । २०५९ सालको चैत महिनामा प्रकाशित योे कृतिमा ६० वटा हाइकुहरु रहेका छन् र ती हाइकुहरुका भावसंग मिल्ने रेखाचित्र पनि राखिएका छन् । यसमा देश, समय र समाजको चित्रण गरिनुका साथै केही प्रेमभाव उनिएका हाइकुहरु पनि रहेका छन् । संग्रहित हाइकुहरु भावगत रुपमा उत्कृष्ट रहेपनि संरचनागत दृष्टिकोणले भने केही हाइकुहरुमा कृतिकार सचेत देखिदैनन् । अतिरिक्त प्रकाशन नेपाल दाङले प्रकाशन गरेको संग्रहको मूल्य १० रुपैयाँ रहेको छ । जापानी साहित्यमा मौलाएको हाइकु विधाले नेपाली भाषामा अलि पहिले नै प्रवेश पाएपनि थारू भाषामा भने औपचारिक रुपमा यही ‘समयका उच्छ्वासहरु’ संग्रह नै पहिलो प्रकाशित कृति मान्न सकिन्छ ।

१०. तुहिन (२०६१)
सुरेश चौधरीद्वारा रचित कविताहरुको संगालोको नाम होे ‘तुहिन’ । २०६१ साल बैशाखमा प्रकाशित यस कृतिभित्र धेरै जसो छोटा कविताहरु रहेका छन् । गैरअनुप्रासयुक्त मुक्तक संरचनामा रहेका यसभित्रका अधिकांश रचनामा प्रेमप्रणय भाव नै पोखिएका छन् । उनी भावगत वा संरचनागत रुपमा कमजोर देखिन्छन् । यसभित्र साना–ठूला गरी झन्डै चार दर्जन कविताहरु रहेको पाइन्छ ।

११. भौगार (२०६१)
‘भौगार’ गजल सङ्ग्रह छविलाल कोपिलाको नेपाली र थारू दुवै भाषामा रचना गरिएको कृति हो । जुन २०६१ साल भदौमा सविता प्रकाशन नेपाल दाङ–देउखुरीले प्रकाशन गरेको होे । भौगर गजल सङ्ग्रहमा राष्ट्रप्रेम, गरिबी, अभाव, शोषण दमनका विरुद्धमा आक्रोशभावहरु पोखिएका छन् । देशमा भइरहेको अन्तद्र्वन्द्व, अन्याय, अत्याचार, भ्रष्टाचार, महङ्गी आकासिरहेको मुलुकको चित्र, बेतोडसंग बढेको गरीबी तथा बेरोजगारी र स्वतन्त्रतालाई कथ्य विषय बनाइएको छ । यसैगरि भ्रष्टाचारी र देशलाई अनिर्णयको बन्दी बनाउनेहरुलाई शब्दभावद्वारा नै सिस्नो–पानी छ्यापिएको छ । यस संग्रहमा एकाध बाहेक प्रेमप्रणय भावमा उनिएका श्रृंगारिक गजल भेटिदैन । जम्माजम्मी एक्काइस वटा सङ्ग्रहित कृतिभित्रका गजलहरु आक्षरिक लयविधानमा रचिएका छन् । केही गजलहरुमा भने लयभङ्गको स्थिति पनि भेटिन्छ । काफिया प्रयोेगको दृष्टिकोणले सचेत देखिएपनि केही गजलहरुमा ध्यान पुग्न नसकेको अवस्था पनि भेटिन्छ ।

१२. देउखरिया रतनचवा ओ दिननचवा गीत (२०६१)
गोकुल चौधरीको संकलनमा प्रकाशित लोकगीत संग्रह ‘देउखरिया रतनचवा ओ दिन नचवा गीत’ होे, जुन २०६१ सालमा प्रकाशित भएको छ । यस गीति संग्रहमा सुम्रौटी, सुन्दरी, सुन्दरी विलाप लगायत ११ थरिका गीतहरु रहेका छन् । संकलनकर्ता स्वयम् आफैले प्रकाशित गरेको यस संगालोको मूल्य २० रुपैयाँ राखिएको छ ।

१३. सुख्ली (२०६२)
साहित्यकार कृष्णराज सर्वहारीद्वारा लिखित बालकथा संग्रह ‘सुख्ली’ २०६२ सालमा प्रकाशित भएको होे । कम्लहरी पात्र रहेको मूल कथाको शीर्षक चयन गरिएको ‘सुख्ली’ बालकथा संग्रहमा जम्मा ६ वटा कथाहरु समेटिएका छन् । यसमा संग्रहित कथाहरु स–साना बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर लेखिएका छन् । केही कथाले भने प्रौढ विचार तथा लोककथाको झल्को पनि दिन्छ । सानो पुस्तिकाको आकारमा प्रकाशित कृति गुर्बाबा प्रकाशन नेपालगञ्जले प्रकाशन गरेको होे ।

१४. जोन्हु–मामा (२०६३)
जोन्हु–मामा बालकविता संग्रहमा साहित्यकार कृष्णराज सर्वहारीले लेखन र संकलन दुइवटै भूमिका निभाएका छन् । सामुहिक युवा क्लब (युनिक) बर्दियाले २०६३ साल बैशाखमा प्रकाशित गरेको योे संग्रहमा तीन वटा थारू समुदायमा प्रचलित लोक बालगीत समेटिएको छ भने १२ वटा उनका मौलिक बालकविताहरु रहेका छन् । शिक्षा, राष्ट्र, चाडपर्व, समय जस्ता विषयवस्तु केन्द्रित बालगीत र बालकविताले बालमनोविज्ञानको विकास हुने देखिन्छ । कृति, आकारमा सानो भएपनि शब्द खादिएका छन् । जसले गर्दा बालशिक्षाको लागि उपयोगी पनि छ । ३० पेजमा रहेको ‘जोन्हु–मामा’ को खरिद मूल्य १५ रुपैयाँ राखिएको छ ।

१५. कैले फुल्छ ऊ ? (२०६३)
कैले फुल्छ ऊ ? गजल सङग्रह थारू र नेपाली दुबै भाषामा रचना गरिएको कृति हो । यसमा सङ्ग्रहित गजलहरु बालबालिकाहरुका लागि सन्देशमुलक, ज्ञानबद्र्धक र शिक्षाप्रद छन् । गजलमा निहित शिल्प, संरचना पक्षले बालबालिकाको मनलाई छुन सक्ने देखिन्छ । गजल जस्तो लयात्मक, गेयात्मक, श्रुतिमधुर बिधाको छनौट गरी बालबालिकालाई उपयोगी ज्ञान सीप र सन्देश दिन खोजिएको छ । गजललाई श्रृङगारमा मात्र सीमित नगरी समाज उत्थानका लागि प्रयोग गर्ने मान्यतालाई स्थापित गर्न यो गजल सङग्रह सक्षम देखिन्छ । लयात्मकता, गेयात्मकता गजलका मूलभूत पहिचानलाई कायम राख्ने शैली यस सङ्ग्रहका गजलहरुमा देखिन्छ । शास्त्रीय लयलाई भन्दा नेपाली गजलमा आमरुपमा प्रचलित नेपाली लोकलय, झ्याउरे शैली र केही गजलहरुमा स्वनिर्मित शैलीको समेत प्रयोग गरिएको छ । छविलाल कोपिलाद्वारा लिखित संग्रहमा दुबै भाषाका २०÷२० वटा गजल सहित रेखाचित्रहरु पनि राखिएका छन् । बाल सरोकार सञ्चार समुह दाङद्वारा प्रकाशित योे संग्रह थारू भाषाको पहिलो बालगजल संग्रह मानिन्छ । ३४ पेजको आकारमा रहेको यस कृतिको मूल्य १७ रुपैयाँ निर्धारण गरिएको छ ।

१७. जुग जुग जिओ (२०६३)
कामताप्रसाद चौधरीले लेख्नु भएको ‘जुग जुग जिओ’ गीत संग्रहमा जम्मा ६५ वटा गीतहरु संग्रहित छन् । गीतहरु झुमरा लयमा रचिएका छन् । देशभक्ति स्वदेश गान, स्तुति गान, प्रेम प्रणय लगायत सबै खाले गीतहरु रहेका छन् । गीतका भाव पक्षलाई हेर्ने होे भने अधिकांश गीतहरुमा हिन्दी भजनको प्रभाव भेटिन्छ । कुल ६२ पेज रहेको कृतिमा ३० पेज पाठ्यसामग्री र बाँकी ३२ पेजमा भने शुभकामना, जीवनी, अनुभूति र समीक्षात्मक अभिव्यक्तिहरु रहेका छन् । २०६३ सालमा प्रकाशित योे कृतिको मूल्य ५० रुपैयाँ राखिएको छ ।

१८. सचित्र कथा (२०६६)
साहित्यकार कृष्णराज सर्वहारीका तुलारामके चर्तिकला, हर जोत्ना मछरिया, सत्तलसिंहके कथा र अनारकलीक् अन्तर्कथा गरी चार वटा सचित्र कथा एक साथ प्रकाशित भएको छ । सर्वहारीका चार वटा कथा मध्ये तुलारामके चर्तिकला, हर जोत्ना मछरिया र सत्तलसिंहके कथा थारू समुदायमा प्रचलित लोककथा हुन भने अनारकलीक् अन्तर्कथा कथा भने कम्लहरी पात्रका रुपमा रहेकी अनारकली चौधरीको जीवनीसंग सम्बन्धित छ । यी चार वटै कृति थारू र नेपाली भाषामा प्रकाशित रहेका छन् । रूम टु रिडले प्रकाशन गरेको कृति २०६६ सालमा प्रकाशित भएको होे ।

१८. जीवलालके फुलरिया (२०६७)
जीवलाल सत्गौवाँ थारूको विभिन्न समयमा प्रकाशित सिर्जनाहरुको संगालो होे ‘जीवलालके फुलरिया’ । २०६७ साल माघ माहिनामा प्रकाशित यस कृतिमा ४ वटा लेख, ९ वटा कथा र ४ वटा कविताहरु समावेश गरिएका छन् । थारू समुदायमा प्रचलित रीति–संस्कृति, प्रेम, सद्भाव लगायतका विषयवस्तु केन्द्रित सिर्जनाहरु यस कृतिमा भेटिन्छन् । साहित्यकार कृष्णराज सर्वहारीद्वारा सम्पादित यस कृतिको प्रकाशन सनातनदेव चौधरी र रुक्मिणी चौधरीले गर्नु भएको छ । ८० पेज रहेको यस पुस्तकको मूल्य ३५ रुपैयाँ राखिएको छ ।

१९. ढों–ढों, पों–पों (२०६८)
थारू भाषामा प्रकाशित पहिलो हास्य कृति ‘ढों–ढों, पों–पों’ २०६८ सालका प्रकाशित भएको होे । साहित्यकार कृष्णराज सर्वहारीद्वारा लिखित यस पुस्तकमा जम्मा ८ वटा हास्य निबन्धहरु समावेश गरिएका छन् । समाजमा भएका विभिन्न चाल–चलन, प्रेम र मानवीय संवेदनालाई विषयवस्तु बनाएर लेखिएका निबन्धहरुले समाजमा रहेका विकृति, विसंगतिप्रति चोटिलो प्रहार गरेका छन् । ४८ पेजमा प्रकाशित कृतिको प्रकाशन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरले गरेको होे ।

२०. थारू भाषक प्रतिनिधि कथा–१ (२०६८)
१५ जना कथाकारहरुका प्रतिनिधि थारू भाषाको कथाको संगालो होे ‘थारू भाषक प्रतिनिधि कथा–१’ । जसको सम्पादन शत्रुघन चौधरीले गर्नु भएको छ । यस संगालोमा म्वार छोट्की दिदी, भुलवा, दिलबन्धन, कमलर्हिया सन्तोली, चुँडैरा, पराठ, पहिचान, लाज, मेवैली बठिनियाँ, बट्या, जन्नी, मोर मनरख्नी, भाइ–प्रेम लगायत आधुनिककथा समावेश गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरद्वारा प्रकाशित योे कृतिको ११० पेज रहेको छ ।

२१. चुरिनियाँ (२०६९)
‘चुरिनियाँ’ उपन्यासमा स्रष्टा छविलाल कोपिलाले थारू समाजमा व्याप्त अन्धविश्वास प्रवृतिप्रति असहमति पोखेका छन् । शीर्षकबाटै योे किचकन्या कथावस्तुमा रचिएको उपन्यास होे भनेर अनुमान लगाए पनि यसको खास विषय कमैया जनजीवन होे । गरीबी, अशिक्षित र रुढीग्रसित परिवेशले निश्चय नै अन्धविश्वास जन्माउँछ । यहाँ अन्धविश्वासको पनि चित्रण गरिएको छ । तर, मूल विषय भने कमैया मुक्त हुनुभन्दा पहिले शोषक जमिन्दारहरुको अन्याय, अत्याचार र दमनको अवस्थालाई समेटिनुका साथै दमनका विरुद्ध आक्रोश पोखिएको छ । अलाउद्दीन स्मृति साहित्यिक सम्मान प्रतिष्ठान नेपालगञ्ज, बाँकेद्वारा प्रकाशित ‘चुरिनियाँ’ उपन्यास ६६ पेजको रहेको छ ।
त्यसैगरि छविलाल कोपिलाको अर्को उपन्यास ‘भँयावन रात’ पनि होे । २०६६ सालमा लौव अग्रासन साप्ताहिकमा धारावाहिक रुपमा प्रकाशित योे उपन्यास पुस्तकाकारमा नरहे पनि पत्रिका मार्फत धेरै पाठक माझ पुगिसकेको छ । थारू समुदायको सामाजिक परिवेश र माओवादी जनयुद्ध यसको प्रमुख विषयवस्तु होे । देशमा धेरै पटक सरकार फेरिए तर यहाँका सामन्तहरुको दमन, अत्याचार र शोषकका कारण गरीब, निमुखाहरुका जीवन माथि उठ्न सकेको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

२२. वीरबहादुरके ऋतु (२०६९)
‘वीरबहादुरके ऋतु’ थारू जातिका कला, संस्कृति, परम्पराका बारेमा लेखिएको कृति होे । वीरबहादुर सत्गौवाँको लेखन तथा छविलाल कोपिलाको सम्पादनमा प्रकाशित यस कृतिभित्र ४ वटा कविता, ११ वटा निबन्ध, १ वटा लोककथा, १ वटा यात्रा संस्मरण र ४ वटा स्वास्थ्य सम्बन्धि जानकारी रहेको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ प्रकाशक रहेको यसमा ८४ पेज रहेको छ । २०६९ साल बैशाखमा प्रकाशित यस पुस्तकको मूल्य ६० रुपैयाँ राखिएको छ । वीरबहादुर सत्गौवाँको यसपछि २०६९ साल चैतमा ‘वीरबहादुरके खर्खोड्वा विरुवा’ भन्ने पुस्तक पनि प्रकाशित भएको छ । थारू भाषा तथा साहित्य संरक्षण मञ्च दाङद्वारा प्रकाशित सो पुस्तक ६४ पेज रहेको छ ।

२३. जानो का होे ? (२०६९)
‘जानो का होे ?’ थारू जातिमा प्रचलित गाउँखाने कथा र प्रश्नोत्तरको संगालो हो । शेरबहादुर चौधरीद्वारा संकलन गरी प्रकाशित गरिएको यस कृतिभित्र ३७० वटा प्रश्नोत्तर र ३८० वटा थारू लोकजीवनमा प्रचलित गाउँखाने कथाहरु समावेश गरिएको छ । थारू गाउँखाने कथा लोप भइरहेको अवस्थामा यस कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । २०६९ साल चैतमा प्रकाशित यस पुस्तकको मूल्य ५० रुपैयाँ राखिएको छ ।

२४. समयका डोबहरु (२०७१)
छविलाल कोपिला, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र रामप्रकाश चौधरी ‘अन्धकार’द्वारा लेखिएको संयुक्त मुक्तक संग्रह होे ‘समयका डोबहरु’ । २०७१ साल बैशाख महिनामा प्रकाशित यस संग्रहभित्र प्रत्येक स्रष्टाहरुका ५५÷५५ गरी १६५ वटा मुक्तकहरु समावेश गरिएका छन् । विभिन्न आयामहरुमा लेखिएका समसमायिक मुक्तकहरु नेपाली भाषामा लेखिए पनि त्यसको भावानुवाद थारू भाषामा गरिएको छ । जसले गर्दा थारू भाषी र गैरथारू भाषीहरुको लागि पनि सजिलो भएको छ । थारू भाषा तथा साहित्य संरक्षण मञ्च, दाङ–देउखुरीद्वारा प्रकाशित यस कृति ६८ पेज आकारमा रहेको छ भने यसको मूल्य ६५ रुपैयाँ राखिएको छ ।

२५. हमार संस्कृति (२०७१)
थारू जातिको विभिन्न कला, संस्कृति, रीतिस्थिति, परम्परा लगायतका विषयवस्तु समेटेर लेखिएको कृति होे ‘हमार संस्कृति’ । साहित्यकार छविलाल कोपिलाद्वारा लेखिएको यस कृतिमा १९ वटा लेखहरु समावेश गरिएका छन् । थारू समुदायमा गाइने ऋतुगीत, पर्वगीत लगायत लोकगीत, विवाह, जन्म संस्कार, मृत्यु संस्कार, धर्म संस्कृति र थारू जातिले मनाउने चाडपर्व यस कृतिका विषयवस्तु हुन् । २०७१ साल बैशाख महिनामा प्रकाशित कृति ११४ पेजको आकारमा रहेको छ भने यसको प्रकाशन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरले गरेको होे ।

पत्रपत्रिकाहरु ः
१. केरनी बार्षिक (२०५८)
थारू भाषा तथा साहित्य परिषद् दाङ देउखुरीले २०५८ सालमा प्रकाशन गरेको आफ्नो पहिलो प्रस्तुति ‘केरनी’ बार्षिक पत्रिकामा विभिन्न समसमायिक विषयवस्तुसंगै साहित्यिक सामग्रीहरु समावेश गरिएका छन् । छविलाल कोपिलाद्वारा सम्पादित यस पत्रिकाले पहिलो अंक प्रकाशनपछि अन्य अंकहरु प्रकाशन गर्न सकेन ।

२. लावा लौझी त्रैमासिक (२०६४)
छविलाल कोपिला (चौधरी क्षितिज)ले सम्पादन गरेको ‘लावा लौझी’ त्रैमासिक पत्रिका २०६४ साल बैशाखमा पहिलो अंक प्रकाशित भयो । थारू जातिको कला, संस्कृति, साहित्य लगायतका विषयवस्तु केन्द्रित रहेर प्रकाशनमा आएको योे पत्रिका ५औं अंक प्रकाशित भइसकेपछि नाम संशोधन र बैधानिकताका लागि जिल्ला प्रशासनमा दर्ता गरी ‘लावा डग्गर’ त्रैमासिक प्रकाशितको थालनी संगै ‘लावा लौझी’ बन्द भयो । योे पत्रिका थारू भाषा तथा साहित्य उत्थान समुह देउखुरीले प्रकाशन गरेको थियो ।

३. लावा डग्गर त्रैमासिक (२०६६)
‘लावा डग्गर’ त्रैमासिक पत्रिका २०६६ साल माघ महिनामा प्रकाशनारम्म भएको होे । छविलाल कोपिलाद्वारा सम्पादित यस पत्रिका हालसम्म २२ अंक प्रकाशित भइसकेको छ । टीकाराम चौधरी प्रकाशक रहने गरी जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई थारू भाषामा प्रकाशित हुने योे नेपालकै अहिलेसम्मको एक मात्र साहित्यिक पत्रिका होे । जो प्रेस काउन्सिलको वर्गीकरणमा पनि रहेको छ र हाल राजधानी लगायत, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुमा आफ्नो बजारक्षेत्र विस्तार गरेको छ ।

४. इन्द्रेणी त्रैमासिक (२०५९)
इन्द्रेणी साहित्यिक परिवार देउखुरीले प्रकाशन गरेको बहुभाषिक त्रैमासिक पत्रिका होे ‘इन्द्रेणी’ त्रैमासिक । २०५९ सालको असोजमा प्रकाशित योे पत्रिकामा १० वटा भाषाका रचनाहरु समावेश गरिएको पाइन्छ । मेदिनीकुमार केवल र छविलाल कोपिलाको सम्पादनमा रहेका यस पत्रिकामा ४५ जनाको रचना मध्ये सात जना स्रष्टाको सिर्जना थारू भाषाका रचना रहेकाछन् । यसकारण पनि योे पत्रिका थारू भाषा साहित्यमा महत्वपूर्ण योेगदान पु¥याएको मान्न सकिन्छ । अहिले पनि इन्द्रेणी जस्तो बहुभाषिक पत्रिकाको आवश्यकता छ तर व्यवस्थापनका कारण प्रकाशन गर्न नसक्नु हाम्रो आफ्नै कमजोरी होे ।

५. स्तम्भ (२०६७)
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको बार्षिक मुखपत्र होे ‘स्तम्भ’ बार्षिक । २०६७ सालको बार्षिकोत्सवको अवसरमा प्रकाशित बहुभाषिक साहित्यिक बिशेषांकमा स्तम्भले १० जना थारू भाषी स्रष्टाहरुका थारू भाषाका रचनाहरु समावेश गरेको छ । यस मुखपत्रमा अवधी लगायत अन्य भाषीहरुले पनि स्थान पाएको देखिन्छ । हिमोढ पहाडी प्रधान सम्पादन रहेको स्तम्भ १२८ पेजको रहेको छ ।

६. डगर (२०६७)
सत्गौवाँ थारू समाज संघ, देउखुरीले प्रकाशित गरेको आफ्नो मुखपत्रमा पनि विभिन्न साहित्यिक सामग्री पस्केको छ । ७४ पेजको आकारमा रहेको डगरभित्र थारू समुदायमा मनाइने चाडपर्व, विवाह, मृत्यु संस्कार लगायत लोकगीत कविताहरु पनि समावेश गरिएको छ भने केही पृष्ठहरुमा भने संस्थाले आफ्नो संस्थागत विधान र गतिविधिहरु राखेको छ ।

७. स्मारिका (२०६९)
थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीले २०६९ साल बैशाखमा प्रकाशित गरेको ‘स्मारिका’ मा धेरैजसो थारू साहित्यिक, सांस्कृतिक सामग्रीहरु समावेश गरिएको पाइन्छ । यसभित्र, सभाको आफ्नै गतिविधिका अतिरिक्त, कथा, लोककथा, लोकगीत, चाडपर्व, विवाह, संस्कृति लगायत आधुनिक साहित्यलाई पनि स्थान दिएको छ । २२२ पेज रहेको यस स्मारिकाको मूल्य १०० रुपैया राखिएको छ ।

८. फुलरिया मासिक (२०७१)
‘फुलरिया’ मासिक बहुभाषिक भित्ते पत्रिका होे । कुमाल भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीले प्रकाशन गरेको यस पत्रिकाको सम्पादन गुरुप्रसाद कुमाल ‘बुलबुल’ले गरेका छन् । थारू भाषा लगायत विभिन्न स्थानीय भाषामा प्रकाशित हुने यस पत्रिकाको प्रकाशन २०७१ साल कात्तिक महिना देखि शुरु भएको होे ।

साहित्यिक संस्थाहरु ः–
१. थारू भाषा तथा साहित्य परिषद् ः (२०५७)
देउखुरीमा साहित्यिक गतिविधि सञ्चालनार्थ स्थापित भएको थारू भाषा तथा साहित्य परिषद् सम्भावतः देउखुरीकै पहिलो साहित्यिक संस्था हो । थारू भाषा तथा साहित्यको विकासका लागि यस संस्थाको स्थापना वि.स २०५७ साल असोज महिनामा भएको थियो । छविलाल कोपिलाको अध्यक्षतामा गठन भएको यस संस्थाको देउखुरीमा साहित्यिक विकासमा उच्च योगदान देखिन्छ । यस संस्थाले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै २०५८ सालको बैशाखमा अध्यक्ष कोपिलाकै सम्पादनमा थारू भाषामा ‘केरनी’ नामको वार्षिक पत्रिका पनि प्रकाशित गरेको छ । हाल यो संस्था निष्कृय रहेको छ भने पत्रिका पनि बन्द अवस्थामा छ ।

२– थारू भाषा तथा साहित्य उत्थान समूह ः (२०६२)
थारू भाषा तथा साहित्य परिषद् निष्कृय भएपछि वि.स २०६२ मा थारू भाषा र साहित्य उत्थान समुह संस्था गठन भयो । छविलाल कोपिलाको अध्यक्षतामा सात सदस्यीय संचालक सदस्यहरु रहेको यस संस्थाले थारू भाषाको ‘लावा लौजी’ नामक पत्रिका प्रकाशन गरेको देखिन्छ । त्रैमासिक रुपमा ५ अङ्कसम्म को ‘लावा लौझी’ प्रकाशन गर्नुका साथै अन्य विभिन्न भाषिक तथा साहित्यिक गतिविधि सञ्चालन गरेको देखिन्छ ।

३– थारू भाषा तथा साहित्य संरक्षण मञ्च ः (२०६६)
वि.स. २०६३ मा स्थापित थारू भाषा तथा साहित्य उत्थान समुहको समितिमा हेरफेर र नाममा परिमार्जन गरी वि.स. २०६६ मा थारू भाषा तथा साहित्य संरक्षण मञ्चको स्थापना भएको हो । हाल योे जिल्ला प्रशासन कार्यालय दाङ र समाज कल्याण परिषद् काठमाडौंमा विधिवत दर्ता भई आफ्नो गतिविधिहरु संचालन गर्दै आएको छ । संस्थाको अध्यक्ष छविलाल कोपिला सहित नौ सदस्यीय कार्यकरिणी समिति रहेको छ । यस संस्थाले देउखुरीमा थारू भाषा र साहित्यसंग सम्बन्धित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै ‘लावा डग्गर’ नामको त्रैमासिक पत्रिका प्रकाशित गरिरहेको छ । हाल २२ अंक प्रकाशित गरिसकेको छ । लावा डग्गर थारू भाषाको पहिलो दर्तावाल साहित्यिक पत्रिका होे । जो अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ । यो संस्था देउखुरीमा थारू भाषा र साहित्यको उत्थानमा क्रियाशील भइरहेको छ ।
योे सानो लेख मार्फत सबै कुरा समेट्न सकिदैन । यहाँ पनि धेरै कुराहरु छुटेका छन् । माथि उल्लेखित कृति र कृतिकार बाहेक पत्रपत्रिकामा लेख्ने थारू स्रष्टाहरुको उल्लेख्य भूमिका रहेको छ । कमलनारायण सत्गौवाँ थारू, बामदेव सत्गौवाँ थारू, धनीराम चौधरी, लेखनाथ चौधरी ‘कल्पना’, गणेशकुमार चौधरी, चेतलाल चार्ली, श्रीमती उत्तम चौधरी लगायतका स्रष्टाहरु एक कालखण्डको हस्तीहरु नै होे । त्यसपछिको नयाँ पुस्ता पनि अहिले सक्रिय नै देखिन्छ । हिराकुमारी चौधरी, देवराज चौधरी, चन्द्रिकाकुमारी चौधरी, अयोध्याप्रसाद चौधरी, विजय चौधरी, राजेन्द्र चौधरी, शिवहरि चौधरी, कृष्णा चौधरी, सुनिता चौधरी, ममता चौधरी, पेमा चौधरी, सुरेश चौधरी, रामकुमार चौधरी, निरु चौधरी, देवकिशोर चौधरी, पुरन पुकार लगायतका स्रष्टाहरुको निरन्तरताले भाषिक अभियानलाई अझ उत्साहित बनाएको छ ।
देउखुरीवासी लेखकहरु राजधानी लगायतका अन्य शहरहरु पनि थारू भाषा साहित्यिक गतिविधिहरु संचालन गर्दै आएका छन् । काठमाडौंबाट प्रकाशित ‘बिहान’ पश्चिमाञ्चलकै चर्चित पत्रिका होे । जसको सम्पादन देउखुरी निवासी जगदीश चौधरीदेखि कृष्णराज सर्वहारीसम्मका हुनुहुन्छ । दाङको बहुमुखी क्याम्पसबाट प्रकाशित हुने ‘हमार पहुरा’ प्रारम्भ पनि देउखुरी निवासी जगदीशनारायण चौधरी लगायतको सक्रियता देखिन्छ ।