न्यायलय-कहाँ छ ?

न्यायलय-कहाँ छ ?

श्रीमान!-निर्दोषलाइ न्यायदिने न्यायलय कहाँ छ ?
बर्षौंदेखी शोषित पीडितको उन्मुक्ति कहाँ छ ?
दासताको जन्जिरबाट फुत्किने जुक्ति कहाँ छ?
फैसलाको हथौड़ा ठोकेर भन्नुस – श्रीमान…??
साँस्कृतिक पहिचानको मुक्ति कहाँ छ?
श्रीमान!-निर्दोषलाइ न्यायदिने न्यायलय कहाँ छ ?

सयौं बर्षदेखि कमैया बन्नेहरुलाई
बिना क्षतिपुर्ती घोक्रयाएर
शैसवकाल देखी जुठो भाँडा माझ्न लगाइ
यौनदासी बनाएर
दिनभरिको अथक परिश्रम बाफत
आधापेट छाकको रासन दिने
ति क्रुर मालिकहरुलाइ
दास मुक्तिको प्रमाणपत्र दिने नाइकेहरुलाइ
बिना सजाय उन्मुक्ति दिने
सामन्ती सरकारका विरुद्ध
मुद्दा हाल्ने अदालत, कहाँ छ-श्रीमान…??
त्यसैले हाम्रो सोधाइ छ,
श्रीमान!-निर्दोषलाइ न्यायदिने न्यायलय कहाँ छ ?
बर्षौंदेखी शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

बलात्कृत छोरीको क्रुन्दन चित्कारलाई
टुलु-टुलु हेर्न बिबश हुने,
ति निरिह बाबुआमाका नजरहरु!
प्रतिबादका लागी आँखा जुद्धाँउदा मात्रै
बाफतमा पिटिएका,
सयौं कोर्रा चोट्को दृश्य नियालेकि
अनि,सन्तानले पाएका चरम पिडाको
कहिल्यै नओभाउने आँखाले न्याय खोज्दै
न्यायिक् आसामा भौँतारिरहेकि ति बुढिआमालाई
बदला लिने चौतारो,कहाँ छ-श्रीमान?
त्यसैले हाम्रो सोधाई छ,
श्रीमान ! निर्दोषलाइ न्यायदिने न्यायलय कहाँ छ ?
बर्षौंदेखी शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

मस्तभै मदिराको नशामा
लुट्टिएका झुम्रा,सखियाहरुले
पाहुनाको आगमन होस या चाडपर्वको निहुँमा
पटक पटक बलात्कृत भएको संस्कार!
उँभो टेक्न पनि पटक्कै मन पराउँदैन
उँधो झर्नपनी रुचाउँदैन
बरु,आफ्नै आँगनमा खेल्न चाहन्छ
आफ्नै खेतबारीमा रमाउन चाहन्छ
आफ्नै भौगोलिक साँस्कृतिक पहिचानको
पारम्परिक फेटामाथि धावा
तारम्तार बोलिरहे पछि
निश्कलङ्कित् नजरहरुले पाउने-न्याय कहाँ छ ?
त्यसैले हाम्रो सोधाई छ,
श्रीमान-त्यो पहिचान फुल्ने देश-कहाँ छ?
पहिचान सहितको सँस्कृती खुल्ने-प्रदेश कहाँ छ?

लाखौं लाटो जिब्राहरुको माझमा
एउटा चतुर जिब्रोले न्यायको हुंकार भट्टयाँउदा
फिस्स मुस्कुराउन पुगेका मुस्कानहरुले
चेलिको कारुणिक चित्कारको
आफु कुट्टिएको
स्वास्नी लुट्टिएको,पिट्टिएको बदलाभावमा
कस्सिएको मुट्ठीले घटेको
दुखित दुर्घटनाको ताज भिडाउँदै
मृत्युपत्रको घोषित् सरकारी धम्किसङ्गै
घिटिघिटी भै जबर्जस्ती
निर्बासित जिवन जिउन बाध्यहुने निर्दोषिले
न्याय पाउने न्यायालय- कहाँ छ?
श्रीमान…??
बर्षौंदेखी शोषित पीडितको उन्मुक्ति कहाँ छ ?
दासताको जन्जिरबाट फुत्किने जुक्ति कहाँ छ?
फैसलाको हथौड़ा ठोकेर भन्नुस – श्रीमान ?
साँस्कृतिक पहिचानको मुक्ति-कहाँ छ?
निर्दोषलाइ न्यायदिने, न्यायलय कहाँ छ ?

  • चिरफार पुस्तक बाट लिइएको ।