आधुनिक ढकिया तर्फ आकर्षित हुँदै थारू महिलाहरु

आधुनिक ढकिया तर्फ आकर्षित हुँदै थारू महिलाहरु

थारु समुदायमा रहेको परम्परागत हस्तकलाको सीपलाई संरक्षण गर्दै आधुनिकीकरण गर्न थालिएको छ । थारु समुदायका महिलाहरुले पुर्खादेखि बुन्दै आएको ढकिया पछिल्लो समयमा लोप हुन थालेपछि थारु युवतीहरु यसको संरक्षण र व्यवसायीकरणमा लाग्न थालेका हुन् । लमही नगरपालिका वडा नं. ८ चैलाही निवासी सरस्वती चौधरीले ढकिया बुन्न थाल्नु भएको छ । चौधरीले व्यवसायिक रुपमा ढकिया बुन्न थाल्नु भएको छ । थारु समुदायको परम्परागत हस्तकलाको सीपलाई आधुनिकीकरण गरेर बनाइएका ढकिया, फुलदानी, ज्वैलर–वक्स, टोपी, फलफूल ट्रे लगायतका सामग्री देउखुरीका थारु महिलाहरुले बनाएका छन् । थारु समुदायका किसोरीहरुको आकर्षण थारु हस्तकलालाई आधुनिकीकरण गर्ने तर्फ बढेको छ । शारदा चौधरीले आफ्नो समुदायमा बनाएको देखे पनि ढकिया बुन्ने काममा कहिल्यै हात हल्नु भएको थिएन । तर, अब आफ्नो समुदायको पहिचान र आयआर्जनका लागि पनि ढकिया बुन्न थालेको बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघ लमही नगर समन्वय परिषद्ले थारु समुदायकी किशोरी तथा महिलाहरुलाई लक्षित गरेर ढकिया बुनाई तालिम दिएपछि यस तर्फ थारु समुदायका किशोरीहरुको आकर्षण बढेको नगर समन्वय परिषदका अध्यक्ष छविलाल कोपिलाले बताउनु भयो ।