दाङमा पहिलो थारु साहित्यिक मेला : मातृभाषालाई अपनत्व दिन सकेन- मुकारुङ

दाङमा पहिलो थारु साहित्यिक मेला : मातृभाषालाई अपनत्व दिन सकेन- मुकारुङ

दाङ, वैशाख ३ । दाङको घोराहीमा शुक्रबारदेखि पहिलो थारु साहित्यिक मेला सुरु भएको छ । थारु भाषामा साहित्यका विभिन्न विधाहरुको रचना, संकलन, संरक्षण गर्दै आएका स्रष्टाहरुको उपस्थिति रहेको साहित्यिक मेला चितवनदेखि पश्चिमतर्फ पहिलोपटक दाङमा आयोजना गरिएको हो ।

मेलाको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै प्राज्ञ मुकारुङले राज्यले मातृभाषाप्रतिको अपनत्व प्रदान गर्न नसकेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मुकारुङले मातृभाषाले राष्ट्रियता मजबुत बनाउने भए पनि राज्यले नेपालमा रहेका मातृभाषाको संरक्षणका निमित्त व्यवस्थित नीति ल्याउन नसक्दा मात्रृभाषा संरक्षणका निमित्त भइरहेका प्रयासहरु ब्यर्थ जस्तो मात्रै भइरहेको बताउनुभयो ।

राज्यका शासकहरु मात्रृभाषाप्रति दुईखाले धारणा राख्नेहरु भएको भन्दै मुकारुङले भन्नुभयो, ‘राज्य सञ्चालनमा रहेका शासकहरु मात्रृभाषाका सन्दर्भमा दुईखाले विचार बोक्नेहरु छन् । एक सबै भाषा संरक्षण हुनु भनेको राष्ट्रियता मजबुत हुनु हो त्यसकारण मात्रृभाषाको संरक्षण गर्नुपर्छ । दुई मात्रृभाषाले बिखण्डन ल्याउँछ त्यसकारण यसको संरक्षण गर्नु आवश्यक छैन । यी दुईखाले विचार धाराहरु राख्दै दुवै समूह अहिले राज्य सञ्चालमा छन् त्यसकारण हाम्रो मात्रृ भाषा यति महत्वपूर्ण हुँदाहुँदै पनि संरक्षण हुन सकिरहेको छैन ।’

हिजोका दिनमा मात्रृभाषा बोलेकै आधारमा जेल जानुपर्ने, ज्यान गुमाउनुपर्ने अवस्थाबाट माथि उठेर राज्यले तिमीहरुलाई आफ्नो मात्रृभाषा बोल्ने, संरक्षण गर्ने पूर्ण अधिकार छ भनेर भने पनि संरक्षणको ठोस कार्यक्रम नल्याएसम्म मात्रृभाषा संरक्षण अभियान अधुरो नै रहने उहाँले बताउनुभयो । मात्रृभाषा संरक्षण गर्नु प्रमुख दायित्व राज्यको भएको भन्दै प्राज्ञ मुकारुङले भन्नुभयो, ‘नेपालमा १२३ मात्रृभाषा छन् । ती भाषाको संरक्षण गरिनु आवश्यक छ । तर, राज्यले प्रतिष्ठानमा त्यति धेरै मात्रृभाषा संरक्षण गर्न वार्षिक ५–७ लाख रुपैयाँ बजेट छुट्टाउँदै आएको छ । यसरी त यति धेरै मात्रृभाषा संरक्षणमा कसरी गर्न सकिन्छ ? मात्रृभाषा संरक्षण गर्न राज्यले नै व्यवस्थित नीति ल्याउनुपर्छ । होइन भने केही वर्षमै नेपालका मात्रृभाषाहरु लोप भएर जानेछन् ।’

कुनै पनि विषय वा सन्दर्भको इतिहास लेख्नका निमित्त भाषाका माध्यमबाट मात्र सहि इतिहास लेख्न सकिने बताउँदै मुकारुङले भाषाको संरक्षण अनिवार्य आवश्यकता भएको बताउनुभयो । संविधानमा सबै भाषाहरु राष्ट्र भाषा भनेर उल्लेख गरिसकेपनि अहिले भाषा आयोग बनाउने कसरत भइरहेको सन्दर्भमा बनिरहेको आयोगका सदस्य बनाउने क्राइटएरिया सबै मात्रृभाषा बोल्नेहरुको भाषा प्रतिनिधित्व नै नहुने प्रकारको रहेको भन्दै यसरी भाषा आयोग बनाउनुको कुनै अर्थ नरहने समेत उहाँले बताउनुभयो ।

मात्रृभाषाजन्य विमर्शले मात्रृभाषासँगै धेरै विषयवस्तुहरु बीचमा अन्तक्र्रिया भई भाषा, संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । मात्रृभाषाका सन्दर्भमा थारु भाषा, साहित्यको महत्वपूर्ण भूमिका रहेको भन्दै यसमा युवा पुस्ताले देखाएको सक्रियता सह्राहनीय रहेको बताउनुभयो ।

त्यस अवसरमा बोल्दै संस्कृतिविद् तथा पूर्व राज्यमन्त्री महेश चौधरीले भाषा, संस्कृति भनेको ज्ञानको भण्डार भएकाले यसको संरक्षण, सम्बद्र्धनमा युवा पुस्ताले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि चौधरीले आदिवासी तथा जनजाति थारु समुदाय संस्कृति, भाषा, परम्पराले धनी जाति भएकाले यसको पहिचानका निमित्त संरक्षण, सम्वद्र्धन आवश्यक रहेको बताउनुभयो ।
चार अग्रज व्यक्ति सम्मानित

यसैबीच मेलाको उद्घाटनका सन्दर्भमा चारजना अग्रज व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । थारु भाषा साहित्यमा महत्वपूर्ण योगदान दिएको भन्दै गोचाली पत्रिकाका संस्थापक महेश चौधरी, भगवतिप्रसाद चौधरी, लालबहादुर चौधरी, लालबहादुर चौधरी र टेकबहादुर चौधरीलाई कदरपत्रले सम्मानित गरिएको थियो ।

साहित्यकार तथा पत्रकार छविलाल कोपिलाले स्वागत एवं कार्यक्रमबारे जानकारी गराउनुभएको कार्यक्रममा कवि विप्लव ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोखे्रल, दाङ शाखा अध्यक्ष सुदिप गौतम, राप्ती साहित्य परिषद्का कमलमणि देवकोटा, थारु बुद्धिजीवी सुशील चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय भाषा विभाग प्रमुख बमबहादुर थारु, बर्दियाका पत्रकार तथा साहित्यकार मानबहादुर चौधरी, कपिलवस्तुका रामप्रकाश चौधरी, चितवनका कुमार अभागी चौधरी, थारु नागरिक समाज कैलालीका वीरबहादुर चौधरी, देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष हरि पोखे्रल, सम्मानित व्यक्तित्वहरु भगवती चौधरी, लालबहादुर चौधरी, टेकबहादुर चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयोजक कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण माधव चौधरीले गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति दाङको सहकार्यमा भएको कार्यक्रमको आयोजना थारु भाषा, साहित्य मञ्च, हर्चाली समूहको आयोजना एवं विभिन्न संघसंस्थाहरुको सह आयोजनामा मेलाको आयोजना गरिएको छ । २ दिनसम्म चल्ने मेलामा हालसम्म थारु भाषा, संस्कृति तथा थारुसम्बद्ध प्रकाशनहरु प्रदर्शनीमा राखिएको केवी चौधरीले जानकारी दिनुभयो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, चितवनका थारु लेखक, साहित्यकारहरुको सहभागीता रहेको मेलामा थारु मानक भाषाबारे सुशील चौधरी, थारु उपन्यास आख्यानबारे कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदानबारे केवी चौधरी, थारु साहित्यको योगदानमा लावा डगरको भूमिकाबारे श्रीराम चौधरी, थारु साहित्यमा कैलालीको योगदानबारे सत्यनारायण दहित, थारु साहित्यमा कविताको अवस्थाबारे छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।