देउथनुवा सँरक्षणमा जुते थारू यूवा

देउथनुवा सँरक्षणमा जुते थारू यूवा

हिरगर संवाददाता/अत्तरिया ।
                    पछिल्लो समय थारू समुदायका यूवाहरु लोपोन्मुख अवस्थामा रहेको देउथनुवा/मरुवा (देवता राख्ने स्थान) को संरक्षणमा सक्रिय भएका छन् ।थारू समुदायको अस्तित्व र पहिचान संग जोडिएको देउथनुवा संरक्षण र सम्वद्र्धनको कमीले लोपोन्मुख अवस्थामा पुग्नथालेपछि उनीहरु आफै संरक्षणमा जुटेका हुन् ।

atriya

कतिपय स्थानका यूवाहरु आफ्नै लगानीमा त कतिपय स्थानका यूवाहरु सरकारी तथा गैरसरकारी निकायको सहयोगमा संरक्षणको अभियानमा लागेका छन् ।

हाल कैलालीको अत्तरिया नगरपालिका–१३ अत्तरियाका थारू यूवाहरु गाउँमा रहेको जिर्ण देउथनुवाको पुनर्निर्माणमा जुटेका छन् । थनुवा संरक्षण अभियानका अगुवा तबीराम चौधरीले संरक्षण सम्वद्र्धनको अभावले जिर्ण बनेपछि संरक्षणमा लागेको जानकारी दिए । उनले संरक्षण अभियानमा थारू, गैरथारू सबैबाट निरन्तर सहयोग पाइरहेको पनि बताए ।

अभियान संगै स्थानीय यूवाहरु पक्की देउथनुवाको निर्माणमा जुटेका छन् । यसैक्रममा कतिपय स्थानीय सिमेन्ट, कतिपय सरिया, ईटा त कतिपयले श्रमदानमा लागेको बताउँछन् संरक्षण अभियानका अर्का सदस्य गंगा डगौंरा । ‘थारू समुदायको मन्दिर भने पनि त्यही देउथनुवा हो, तर संरक्षणको कमीले जिर्ण हुन पगेपछि हामी एकाएक चिन्तित भएका थियौं’, उनले अगाडी भने–‘तर संरक्षणको अभियान सञ्चालन संगै सबैको सहयोग पाएपछि हामी अत्यन्तै खुशी भएका छौ ।’अभियानका सदस्य डंगौराले गाउँवासीहरुबाट देउथान निर्माणको लागि प्रतिघरधुरी पाँच सय रुपैयाँ संकलन गरिरहेको बताउँदै अत्तरिया बजारबाट पनि एक दिनमा २० हजार रुपैयाँ सहयोग संकलन गरेको जानकारी दिए ।अत्तरियास्थित सुरक्षा महिला सामुदायिक वनले देउथनुवा निर्माणको लागि पाँच कठ्ठा जग्गा उपलब्ध गराएपछि स्थानीयहरु निर्माणको कार्यमा जुटेका छन् ।

अत्तरियाका पूर्व भलमन्सा (गाउँ प्रमुख) समेत रहेका अभियानका अगुवा तबीराम चौधरीले उक्त निर्माधिन देउथनुवालाई निकट भविष्यमा संग्राहलय बनाउने आफुहरुको लक्ष्य रहेको पनि बताए ।
सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुपर्छ भन्ने सचेतना जागृत भएपछि यतिबेला थारू समुदाय देउथनुवा सुरक्षित स्थानामा सार्दै पुर्ननिर्माणमा जुटेका छन् । गत वर्षमात्रै धनगढी उपमहानगरपलिका–५ हसनपुरका स्थानीयहरु सुदूर पश्चिम साहित्य समाजको भवन नजिकै रहेको थनुवालाई तारबार गरेका थिए ।
यस्तै, सरकारी बजेटबाट पनि थनुवा निर्माणमा लगानी भैरहेको छ । थरुहट तराई पार्टी नेपालले गत वर्ष संसद विकास कोषको १३ लाख बजेट कैलालीको विभिन्न स्थानमा थनुवा निर्माणमा लगानी गरेको थियो ।
प्राकृति पुजक थारू समुदायको थनुवा÷मरुवामा मुरहा (शिव), सुच्चा (दुध खाने विष्णु), कालिका (दुर्गा), पाँच पाण्डप, रक्सा (कुष्ण), जोगिठ्वा (जोगी), पुर्वेहनी (डहरचण्डी÷काली), डुलुवा (पितृ)लगायत देवी–देवताको बासोवास रहने थारू बुद्धिजीवीहरु बताउँछन् ।