१४ बुदे घोषणपत्र जारी गर्दै थारू साहित्यिक मेला–१ सम्पन्न

बैशाख ५, दाङ
थारू भाषा र साहित्यको बिकासका लागी आयोजीत थारू साहित्यिक मेला– १ सौडियार–५ राजपुरमा १४ बुँदे घोषण–पत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा थारू मानक भाषा बनाउनका लागी सबै भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकबद्ध भएर काम गर्ने, थारू मातृभाषमा शिक्षाका लागि बिद्यमान संबैधानिक र कानुनी प्राबधानको व्यबहारिक कार्यान्वयनका लागी दवाव दिने, थारू भाषा र साहित्यको बिकास तथा स्थानिय श्रोत परिचालन र पहुँचका लागी प्रयास गर्ने उल्लेख छ ।
त्यस्तै, थारू साहित्यिक मेला हरेक बर्ष आयोजना गरेर थारू साहित्यको बिकासको लागी अघि बढ्ने प्रतिबद्धता जनाउदै घोषणापत्रमा भाषा बिकासका लागी गठित सरकारी निकायहरुमा पुर्ण समानुपातिक समावेशी प्रतिनिधीत्वका लागी जोडदार माग गरिएको छ ।
त्यसैगरी थारू भाषा साहित्य संरक्षण र बिकासका लागी साझा प्रयास गर्न थारू लेखक संघ पनि गठन गरिएको छ । कृष्णराज सर्वहारीको संयोजकत्वमा गठित १३ सदस्यीय संघमा कैलाली रुपन्देही, बाँके, बर्दिया, कञ्चनपुर, चितवन, र कपिलबस्तुका प्रतिनिधी साहित्यकारहरु सदस्य रहेका छन् । संघको सल्लाहकारमा साहित्यकार महेश चौधरीलाई चयन गरिएको मेला आयोजक मुल समितिले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
दुईदिने सो कार्यक्रममा थारू भाषा र साहित्य सम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुत गरियो । जसअन्तरगत थारू भाषाको मानकताको सवाल विषयमा सुशिल चौधरी, थारू साहित्यको कविताको अवस्था विषयमा छविलाल कोपिला, थारू साहित्यमा कैलालीको भुमिका र थारू साहित्यमा आख्यानको अवस्था बिषयमा कृष्णराज सर्वहारी, थारू साहित्यमा दाङको योगदान विषयमा केवि चौधरी र जङग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान बिषयमा सोम डेमनडौराले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा साहित्यकारहरु एकराज चौधरी, टीकाराम उदासी, सागर कुश्मी, सुशिल चौधरी, माधब चौधरी र कुमार अभागी चौधरीले टीप्पणी गर्नुभएको थियो ।
मेलामा थारू भाषा र थारू बिषयमा प्रकाशित पुस्तक पत्रपत्रिकारु प्रदशनमा राखिएको थियो ।

थारू साहित्यिक मेला– १
दाङ घोषणा पत्र– २०७३
२०७३ बैशाख ३ र ४ गते दाङ जिल्लाको घोराही र सौडियार–५ राजपुर गाउँमा भएको थारू साहित्यिक मेला– १ भव्य रुपमा सम्पन्न भयो । यस कार्यक्रमका सबै सहभागीहरुको साझा प्रतिबद्धता निम्न अनुसार छ ।
१. थारू मानक भाषा बनाउनका लागी सबै भाषा प्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकताबद्ध भएर काम गर्ने ।
२. थारू मातृभाषमा शिक्षाका लागी बिद्यमान संबैधानिक र कानुनी प्राबधानको व्यबहारिक कार्यान्वयनका लागी दवाव दिने ।
३. थारू भाषा र साहित्यको विकास तथा स्थानिय श्रोत परिचालन र पहुँचका लागी प्रयास गर्ने ।
४. थारू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्न जोडदार माग गर्ने । थारू भाषीहरु आफै पनि सरकारी निबेदन तथा लिखत थारू भाषामै लेखाउन कोसिस गर्ने ।
५. भाषा साहित्यको बिकासका लागी गठित सरकारी निकायहरुमा पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्वका लागि जोडदार माग गर्ने ।
६. थारू भाषाको बिकासका लागी आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने÷छपाउने कामलाई महत्वका साथ व्यवहारमा लागु गर्ने ।
७. थारू समुदायमा रहेको कथा बाचन शैलीमा लोक साहित्य सुनाउने अभ्यासलाई नवीकरण गर्दैै निरन्तरता दिने ।
८. थारू भाषामा रहेको मटाँवा÷भलमन्सा÷बरघर संगठनको माध्यमबाट थारू भाषिक मानकता बनाउने र साहित्य संस्कृतिको विकासको लागी अभियान चलाउने ।
९. थारू भाषिक मानकता लेखनका लागि गोष्ठी, कार्यशाला, बैठक आदि गर्ने ।
१०. आम सञ्चार माध्यमबाट थारू साहित्यको प्रकाशन र प्रशारण गर्ने ।
११. थारू भाषी पत्रकाहरुलाई मानक भाषा लेखन सीप विकास तालीम दिने ।
१२. थारू साहित्यमा समालोचना आख्यान बिधा कमजोर रहेकोले आगामी दिनमा लेखक, पत्रकार, साहित्यकारहरु यस क्षेत्रमा कलम चलाउने ।
१३. थारू भाषा साहित्य संरक्षण र विकासका लागी साझा प्रयास गर्न थारू लेखक संघ गठन गरेर अघि बढ्ने ।
१४. थारू साहित्यिक मेला हरेक बर्ष आयोजना गरेर थारू साहित्यको विकासको लागी अघि बढ्ने ।
मिति ः २०७३ बैशाख ४ गते, सौडियार ५ राजपुर, दाङ